काठमाडौँ– नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सीमा, भौगोलिक अखण्डता र सार्वभौमिकताका सवालमा संसद्, राजनीतिक दल र जनता एक ढिक्का हुनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालको संलग्नता र सहमतिबिना लिपुलेकलाई दुई देशबीचको व्यापारिक मार्ग बनाउने गरी भारत र चीनबीच सहमतिप्रति प्रधानमन्त्रीले स्पष्ट आपत्ति जनाएको उल्लेख गर्दै धन्यवाद व्यक्त गरे।
उनले सीमा विवाद समाधानका लागि दुई छिमेकी देशहरूसँगको कूटनीतिक बहस र छलफलबाट निकाल्नुपर्नेमा जोड दिए। उनले सुगौली सन्धिअनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको स्पष्ट पारे।
बडूले भने, ‘आफ्नो देशको सीमा, भौगोलिक अखण्डता र सार्वभौमिकताका सन्दर्भमा सिंगो संसद्‚ सम्पूर्ण राजनीतिक दलहरू र नेपाली जनता एक ढिक्का छन् र एकसाथ उभिएका छौं भन्नेमा म विश्वस्त छु।’
प्रधानमन्त्री केपी शर्मा ओलीको चीनका राष्ट्रपति सी चिनफिङसँग भएको भेटमा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा स्पष्टरूपमा आपत्ति रहेको विषय उठाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।