काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन्।
भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन्।
सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए। त्यसपछि सभामुख घिमिरेले रास्वपाका हरि ढकाललाई बोल्न दिएका थिए। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दलीयकरण गरिएको आरोप लगाए।
दलीयकरण भएका कारण जनताले उठाएका विषयमा छानबिन नगरेको आरो समेत उनले लगाए।
त्यसपछि सभामुख घिमिरेले राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोल्ने समय दिए। उनले जुम्लाको स्याउ किन्ने वातावरण निर्माण गर्न माग गरे।
दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू संसद् बैठक कक्षबाट बाहिरिएका छन्।
भिजिट भिसा सेटिङ प्रकरणमा संसदीय विशेष छानबिन समिति वा न्यायिक छानबिन आयोग बनाउनुपर्ने माग गर्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठकमा गत जेठ १३ गतेदेखि विरोध गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।