काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले अनसन तोडेका छन् । डा. केसीले गेटा मेडिकल कलेजमा उपचारत बिरामी पृतम चौधरीको हातबाट जुस खाएर २ बजे अनसन तोडेका हुन् ।
गत आइतबारदेखि अनसन बसेका डा. केसीको स्वास्थ्यमा समस्या बढ्दै गएको थियो । मंगलबार बिहान केसीको मुटुको चालमा गडबडी देखिएको उनका सहयोगी डा. अमृत जैसीले बताए ।
डा. केसीले निजी मेडिकल कलेजको सिट वृद्धि लगायत निर्णयको विरोध गर्दै गत आइतबार दिँउसोदेखि सत्याग्रह सुरु गरेका हुन् ।
चिकित्सा शिक्षा आयोगको साउन ३० बसेको बैठकले निजी मेडिकल कलेजमा एमबीबीएसको सिट १३० सम्म दिने निर्णय गरेको थियो । आवश्यक मापदण्ड नै पुरा नगरेका निजी मेडिकललाई जथाभावी सिट तोक्दा गुणस्तर खस्कनुका साथै स्वास्थ्य सेवामा ह्रास आउने उनको तर्क छ ।
सत्याग्रहसँगै डा. केसीले निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्ने, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने, कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने लगायतका माग राखेका छन् ।
यसैगरी अघिल्ला सम्झौता अनुसार एकीकृत प्रतिष्ठान ऐन, उच्च शिक्षा ऐन, गैरनाफामूलक मेडिकल शिक्षा र दरबन्दी सम्बन्धी प्रावधानलाई कार्यान्वयन गर्न पनि डा. केसीले माग राखेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।