काठमाडौ– राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट निजामती सेवा विधेयक सर्वसम्मत पारित भएको छ।
मंगलबारको विधायन समिति बैठकले निजामती सेवा विधेयक सर्वसम्मतले पारित गरेको हो।
समितिको मंगलबार बिहान ९ बजेदेखि सुरु भएको बैठकमा प्रतिवेदनको मस्यौदामाथी छलफलपछि प्रतिवेदन पारित भएको समितिका सभापति तुलसाकुमारी दाहालले बैठकमा घोषणा गरिन्।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले राष्ट्रिय सभाको विधायन समितिको आजको बैठकमा प्रतिनिधि सभाबाट पारित व्यवस्थाअनुसार नै अघि बढ्न सहमत भएको बताइन्
हिजोको बैठकमा उनले कर्मचारीहरूको अवकाश उमेर हद ऐन पारित भएको आर्थिक वर्षमै ५९ वर्ष बनाउनुपर्ने प्रस्ताव राखेकी थिइन् । यसमा प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाएका थिए।
पारित प्रतिवेदनलाई समिति अन्तरगत रहेको उपसमितिले अन्तिम रुप दिएपछि सभापति र समिति सचिवको हस्ताक्षरपछि राष्ट्रिय सभा बैठकमा आजै पेश हुनेछ।
यसअघि प्रतिनिधि सभा र विधायन समितिमा पनि ऐन पारित भएको आर्थिक वर्षमा कर्मचारीहरूको अवकाश उमेर हद ५८ वर्ष राख्ने सहमति थियो। अब यही सहमतिअनुसार निजामती सेवा विधेयक अघि बढ्ने भएको छ। विधेयक आज राष्ट्रिय सभामा पेश गरी आजै पारित गर्ने तयारी छ।
प्रतिनिधि सभामा छलफलपछि विधेयकले ऐनको रूप लिएर लागू भएको आर्थिक वर्षमा ५८ वर्षमा अवकाश हुने, त्यसपछिको वर्षमा ५९ वर्षमा र तेस्रो वर्षदेखि ६० वर्षमा अवकाश हुने गरी सहमति जुटेको थियो। राष्ट्रिय सभाको विधायन समितिमा पनि यही व्यवस्था राख्ने सहमति जुटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।