काठमाडौं– आफ्नै दुई नेपाली सहकर्मीको हत्या गरेको ठहर गर्दै साउदी अरबमा मृत्युदण्डको सजाय सुनाइएका कास्कीका ४५ वर्षीय पुष्पराज रानाभाटलाई साउदी सरकारले मृत्युदण्ड दिएको छ ।
तीनै तहका अदालतको फैसलालाई दमाम जेल प्रशासनले कार्यान्वयन गर्दै गत जेठ १९ गते सोमबार बिहान ७ : ५९ बजे मृत्युदण्ड दिएको हो ।
हत्याको घटना दुइ वर्ष अघिको हो । साउदी अरबको दमामस्थित तल्लो अदालतका अनुसार पुष्पराजले एउटै कोठामा बस्दै आएका ५० वर्षीय भाग्यनारायण राय र ४४ वर्षीय सरोजकुमार झाको २०८० असोज २ गते हत्या गरेका थिए । राय र झा दुवै महोत्तरीका हुन्। यही मुद्दामा तल्लो तहको मृत्युदण्ड दिने फैसलालाई उच्च र सर्वोच्च अदालतले सदर गरेका थिए ।
यो घटनामा पुष्पराजले कसरी हत्या गरेका थिए, घटनाको पृष्ठभूमि के थियो भन्नेबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन ।
साउदीमा सार्वजनिक कानुन अनुसार मृत्युदण्डको सजाय सुनाएपछि पीडित पक्षले 'ब्लडमनि' लिएर माफी दिन सक्ने ब्यवस्था छ । तर, औपचारिक रुपमा यो मुद्दामा पीडित र पीडकबीच कुरा नै भएन । उनीहरु तीनै जना सामान्य श्रमिक थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।