धनगढी– प्रा.डा. गोविन्द केसीले निजी मेडिकल कलेजको सिट वृद्धि लगायत निर्णयको विरोध गर्दै तीनदिने सत्याग्रह सुरु गरेका छन्।
डा. केसीले धनगढीस्थित गेटा मेडिकल कलेज परिसरमा पत्रकार सम्मेलन गर्दै सत्याग्रह सुरु गरेको जानकारी दिएका हुन्।
विद्यार्थी भर्ना सिट संख्या वृद्धि गर्दा नेता र माफियाको झोला भरिने तर शिक्षाको गुणस्तरमा ह्रास आउने डा. केसीको भनाइ छ।
डा. केसीले पत्रकार सम्मेलनमा भने, ‘निजी मेडिकल कलेजहरूको सिट वृद्धि गर्दा नेता र माफियाको झोला भरिन्छ, तर शिक्षाको गुणस्तर खस्किन्छ। गुणस्तर खस्कनुको अर्थ स्वास्थ्य सेवामा ह्रास आउनु हो, जुन आम नेपालीको स्वास्थ्यसँग खेलबाड गर्नु हो।’
गलत रुपमा गरिएको निजी मेडिकल कलेजहरूको सिट वृद्धि फिर्ता गर्ने साथै इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्ने र कैलालीको गेटामा पूर्णरूपमा अस्पताल सेवा र शैक्षिक कार्यक्रम तुरुन्त सञ्चालनमा ल्याउनेलगायत यस अघि आफूहरूसित भएका सम्झौता कार्यान्वयन गर्न दबाब दिन सत्याग्रहमा बस्नु परेको उनको भनाइ छ।
‘त्रिविले १०० जना एमबीबीएस पढाउन हिचकिचाउँछ, तर पूर्वाधारहीन निजी कलेजलाई १३० सिट दिइन्छ, जुन दुर्भाग्यपूर्ण हो,’ डा.केसीको भनाइ छ।स्वास्थ्य प्रणालीको गिरावटमा नेताहरूको स्वार्थ, माफियाको चलखेल र आयोग नेतृत्वको निरीहता जिम्मेवार रहेको डा.केसीको ठहर छ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली र चिकित्सा शिक्षा आयोगबाट गलत ढंगले मेडिकल कलेजहरूलाई विद्यार्थी सिट संख्या वृद्धि गर्ने निर्णय भएको भन्दै उक्त निर्णय तुरुन्त फिर्ता लिन माग गरेका छन्।
‘चिकित्सा शिक्षा ऐनको मर्मविपरित प्रधानमन्त्री केपी ओलीको नाजायज र प्रत्यक्ष हस्तक्षेपका कारण हालै चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजहरुको सिट बढाउने गैरजिम्मेवार निर्णय गरेको छ,’ डा. केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसलगायत केही समय यताका आयोग, सरकार र अदालतका गलत निर्णय तथा फैसलाले चिकित्सा शिक्षा ऐनको अस्तित्व नै धरापमा परेको छ।’
आफ्नो माग पूरा गर्न दबाब दिने उद्देश्यले भदौ १७ गतेसम्म सत्याग्रहमा बस्ने डा. केसीले प्रस्ट पारेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।