काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनको उम्मेदवार सार्वजनिक गर्दैछ।
यसका लागि वनस्थलीस्थित केन्द्रीय कार्यालयमा दिउँसो साढे १ बजे पार्टी सचिवालय बैठक बस्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिए। उक्त बैठकपश्चात् उमेदवार घोषणा गरिने उनले बताए।
“बैठकपश्चात् पार्टी प्रवेश कार्यक्रम र रुपन्देही–३ मा हुने उपनिर्वाचनको उमेदवार घोषणा कार्यक्रम हुनेछ,” उनले भने।
उपनिर्वाचनका लागि ९ जना प्रतिस्पर्धामा छन्। सुलभ खरेल, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी छन्। सम्भावित उम्मेदवारको रुपमा सुलभ खरेलको नाम बढी चर्चामा छ।
उनीहरूमध्येबाट उम्मेदवार चयन गर्न रास्वपाले १२ भदौ बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म प्राइमेरी इलेक्सन गरेको थियो। अनलाइन भोटिङमा सबैभन्दा बढी भोट पाएको व्यक्तिलाई उम्मेदवार घोषणा गर्ने रास्वपाले जनाएको छ।
रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् राप्रपाका नेता दीपक बोहोराको निधन भएकाले सो स्थानमा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।