काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ५ बाटै आगामी चुनावमा लड्न तयार रहेको बताएका छन् ।
शनिबार पार्टीको झापा जिल्लाको ११ औं अधिवेशनलाई सोम्बोधनका क्रममा अध्यक्ष लिङ्देनले आफू एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्वाचन क्षेत्रबाट चुनाव लड्न तयार रहेको बताएका हुन् ।
उनले भने, ‘समय र जनताले माग म ओलीसँगै चुनावमा भिड्न तयार छु ।’ काठमाडौंका नेताहरुसँग एमाले अध्यक्ष ओलीले अब लिङ्देन कहाँबाट चुनाव लड्छन् हेरौंला भन्ने चेतावनी दिएपछि आज लिङ्देनले झापा पुगेर ओलीलाई यस्तो चुनौती दिएका हुन् ।
लिङ्देनले भने, ‘हामीले सुशासनको कुरालाई लिएर हाम्रो आवाजहरू बुलन्द गर्न थाल्यौँ। जब अस्ति प्रधानमन्त्रीले आफ्ना कार्यकर्ताहरूलाई ब्रिफिङ गर्ने बेलामा त्यो राजेन्द्र लिङ्देन भन्ने मान्छे झापामा कहाँबाट चुनाव जित्दो रहेछ हेरौँला भन्नुभएछ । म उहाँलाई यहीबाट शालीनतापूर्वक यहीबाट जवाफ दिन्छु हाम्रो केही सङ्गत भयो राजनीतिमा, दलहरूबीच राजनीतिमा छलफल सहकार्य हुन्छन्। विमतिका बीचमा पनि मिलेर गर्नुपर्ने थुप्रै कामहरू हुन्छन् । भविष्यमा पनि त्यस्ता भेटवार्ता हुन्छ होला ।’
उनले आफूले वडासदस्य समेत नभए पनि यो भ्रष्ट व्यवस्थाविरुद्ध उभिन्छु भनेर राजनीति सुरु गरेको भन्दै प्रधानमन्त्री ओलीलाई ०८४ मा संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा जान समेत चुनौती दिए ।
उनले भने, ‘सांसद त के बाँकी जीवन वडा सदस्य समेत नभई मर्न तयार छु। तर यो भ्रष्ट व्यवस्थाविरुद्ध उभिन्छु भनेर राजनीति सुरु गरेको हुँ । समयले खोजेछ भने जनताले चाहेको खण्डमा झापा ५ टाढा होइन । म त्यहीँबाट लड्न सक्छ । समयको कुरा हो । जनताले चाह्यो, जनताले माग्यो भने ५ मा गएर चुनाव लड्ने हिम्मत राख्ने मान्छे हुँ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।