काठमाडौं– सांसदहरुले उखुकिसानको मागप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार बसको प्रतिनिधिसभा बैठकमा उनीहरुले सरकार गम्भीर नहुदा उखुकिसानहरु पटक पटक आन्दोलनमा उत्रिनुपरेको भन्दै उखुकिसानको मागप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बैठकमा कांग्रेस सांसद एनपी साउदले नेपाल कृषिप्रधान देश भएपनि उखुकिसानहरु अन्यायमा परिरहेको बताए । उनले सरकारबाट प्राप्त हुने अनुदान र बक्तौता नपाउँदा किसानहरु फेरि माइतिघरमा आन्दोलन गर्न बाध्य भएकाले छिटो भन्दा छिटो उनीहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।
उनले २०६६ सालदेखि पटक–पटक आन्दोलन गर्दै आइरहेका उखु किसानहरू हरेक पटक आन्दोलनमा सरकारबाट समस्या समाधानको आश्वासन पाए पनि समस्या भने अझै समाधान नभएको उल्लेख गरे ।
सांसद साउदले राष्ट्रिय हित अनुकूल हुने गरी चिनीको आपूर्ति सन्तुलनका लागि सरकारले आवश्यक नीति अवलम्बन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
त्यस्तै माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले बिगतको बक्यौता पनि नपाउने र यस बर्ष अनुदान पनि घटाउने सरकारको निर्णयले उखुकिसान समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
उखु किसानले पाउनुपर्ने गत वर्षकै एक अर्ब ५० करोड भन्दा बढी रकम सरकारले भुक्तानी नगरेको उनले बताए । उनले उखुकिसानको माग सम्बोधन गर्न माग गरे ।
त्यस्तै एमाले सांसद अच्युत प्रसाद मैनालीले उखुकिसानलाई उपलव्ध गराउँदै आएको अनुदान उपलव्ध गराउन र किसानहरुका माग दिर्घकालीन समाधान हुने गरि वार्ता गर्न माग गरे ।
गत आर्थिक बर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानहरुले काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।