अछाम– छाउ (महिनाबारी) भएका बेला बार्नका लागि त्रिपालमा बसेकी एक महिला र बालिकाको ढुंगाले लागेर मृत्यु मृत्यु भएको छ ।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-८ बरालामा सेरापानीस्थित चुरेखोली टोलमा महिनावारी बार्न बारीमा त्रिपाल टाँगिरहेको अवस्थामा ढुंगा खस्दा २८ वर्षीया निम खनाल र ७ वर्षीया बालिका कविता भण्डारीको ज्यान गएको अछाम प्रहरीले जनाएको छ ।
मृतक बालिकाकी आमा ३६ वर्षीया रत्नकला भण्डारीको टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई थप उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी प्रमुख डीएसपी ओमप्रकाश खनालले बताए ।
खनालका अनुसार प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । दुई महिला महिनावारी भएको र बार्नका लागि त्रिपाल टाँगेर बसेका बेला बालिका पनि साथमा थिइन् ।
प्रहरीले कानुन विपरीत महिनावारी हुँदा यसरी त्रिपाल टाँगेर बाहिर बस्न बाध्य पार्नेमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने बताएका छन् । उनीहरु महिनावारी भएपछि घरको आँगनमा त्रिपाल टाँगेर सुतेका थिए । राति माथिबाट ढुगा खसेर उनीहरुलाई लागेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।