विराटनगर– जिल्ला कारागार मोरङको शौचालयमा महिला कैदीको शव फेला परेको छ।
बुधबार बिहान महिला सेलमा रहेको शौचालय भित्र झुण्डिएको अवस्थामा सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बस्ने ३२ वर्षीया राधा भट्टराई (राधिका) को शव फेला परेको हो।
घाँटीमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा भट्टराईलाई बिहान फेला पारिएको जेलर गौरव ढुङ्गेलले बताए।
ढुंगेलका अनुसार उनलाई कर्तव्यज्यान मुद्दामा सुनसरी जिल्ला अदालतले जन्मकैद सजाय सुनाएको थियो।
भट्टराईले २०८० माघ पहिलो साता दुई नाबालक सन्तानसहित सप्तकोशी नदीको नहरमा हाम्फालेकी थिइन्। उनी र एक सन्तानको उद्धार भएको थियो। एक सन्तानको मृत्यु भएपछि उनीमाथि कर्तव्यज्यान मुद्दा चलेको थियो।
त्यही घटनाको अनुसन्धानका क्रममा उनलाई प्रहरीले २०८० माघ ५ गते पक्राउ गरेको थियो।
अनुसन्धान सकिएपछि उनीविरुद्ध जिल्ला अदालत सुनसरीमा कर्तव्य ज्यान मुद्दा दर्ता भयो। अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न माघ २३ गते आदेश दिएपछि कारागार चलान गरिएको थियो।
उनको मृत्युको घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।