रौतहट– रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई रौतहट प्रहरीले जलेको अवस्थामा पक्राउ गरेको छ।
घटनापछि खोजतलासमा जुटेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक राजु कार्की नेतृत्वको टोलीले मुख्य आरोपितलाई पक्राउ गर्न सफल भएको हो।
जिल्लाको माधव नारायण नगरपालिका वडा नम्बर ६ बस्ने मुख्य आरोपित लक्ष्मण पासवानलाई घाइते भएको अवस्थामा माधोपुर गाउँदेखि मानपुर बिसुनपूर्वा जाने बाटो नहरको छेउबाट नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए।
आफ्नो जिउमा आगो लगाएर आत्महत्या गर्ने प्रयास गरेको बुझिएको छ । शरीरमा आगो लगाएको पासवानले घटनामा संलग्नता रहेको स्वीकार गरेको बुझिएको छ । आगोले पासवानको शरीरको विभिन्न भाग जलेकोले उपचारको लागि अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
गत शनिबार राति गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक डोरीले बाँधिएको अवस्थामा २६ वर्षीय रुबी देवी साहको शव सुटकेसभित्र फेला परेको थियो।
अनुसन्धानबाट खुलेको प्रारम्भिक विवरण अनुसार, पासवानले गौरस्थित भाडाको घरमा रुबीको हत्या गरी शव सुटकेसमा हालेर इ–रिक्सामा सार्ने प्रयास गरेका थिए। तर, इ–रिक्सा बिग्रिएपछि सुटकेस त्यही छाडेर भागेका थिए।
मृतक रुबी साह हाल गौर–२, महादेवपाट्टीमा डेरा गरी बस्दै आएकी थिइन्।उनी माधवनारायण–६, मधोपुरकी सुनिच्छा देवीकी छोरी हुन्। रुबीको विवाह भारत, बिहार, मुजफ्फरपुरका शिवकुमार साहसँग भएको थियो। उनको ४ वर्षको एक छोरा रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।