काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथिको पदीय आचरण विपरीतको कार्य गरेको भन्दै हटाउन भइरहेको गृहकार्यबारे छलफल गर्न देउवाले सोमबार बिहान बैठक बोलाएको एक पदाधिकारीले जानकारी दिएका हुन्।
बैठक सोमबार बिहान १० बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने ती पदाधिकारीको भनाई छ।
कुलिङ पिरियड सम्बन्धी विवादमा मुछिएपछि राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदबाट नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गत साउन २८ गते राजीनामा दिएदेखि उक्त पद रिक्त छ। प्रतिनिधिसभा नियमावलीको नियम १७७ को उपनियम ५ मा संसदीय विषयगत समितिको सभापति पद रिक्त भएको १५ दिन भित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ।
यो समितिको सभापति पदमा अन्य दलको दाबी नरहेकाले सभामुख घिमिरेले आइतबार कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेसँग दुई पटक छलफल गरेका थिए। तर घिमिरेले पार्टीमा छलफल गरेर मात्र सभापतिको उम्मेदवार दिन सक्ने भनेपछि आइतबार निर्वाचनको सूचना जारी भएको थिएन।
छलफलको क्रममा सभामुख घिमिरेले विगतमा पनि तोकिएको समयमा सभापति चयन हुन नसक्दा राज्य व्यवस्था समितिको बैठक नै बस्न नसकेको गलत नजिर नदोहोर्याउन ध्यानाकर्षण गराएका थिए।
त्यस्तै उपसभामुख रानामगरलाई पदीय आचरण विपरीत काम गरेको भन्दै कांग्रेस एमालेका सांसदहरूले हस्ताक्षर सङ्कलन गरिरहेका छन्। त्यो कार्यको पार्टीभित्रका इतर समूहका नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विरोध गरेपछि छलफलका लागि देउवाले बैठक बोलाएकाे बुझिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।