काठमाडौं– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले आफ्ना दुई जना मन्त्रीलाई फिर्ता बोलाउने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मन्त्री हटाएर नयाँ मन्त्री नियुक्त गर्न आलटाल गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी दुई जना मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको हो।
शनिबार बसेको जसपा पदाधिकारी बैठकले सरकारमा सहभागी खानेपानी मन्त्री प्रदीप यादव र महिला मन्त्री नवलकिशोर साह सुडीलाई फिर्ता बोलाउने विषयमा छलफल गरेको थियो।
सो निर्णयबारे प्रधानमन्त्री कार्यालयलाई समेत जानकारी गराइसकिएको उक्त पार्टीका उपाध्यक्ष परशुराम बस्नेतले जानकारी दिए। बैठकले अर्का दुई जनालाई मन्त्रीमा पठाउने निर्णय गरेको समेत उनले बताए।
सरकारमा मन्त्री रहेका प्रदीप यादव र नवलकिशोर साहलाई फिर्ता बोलाउने र डा.वीरेन्द्र महतो र रञ्जु झालाई मन्त्रीमा पठाउने निर्णय भएको उनले बताए।
जसपा नेपालबाट विभाजन भइ बनेको जसपाका हाल सात जना सांसद छन्। उनीहरुलाई पालैपाले मन्त्री बनाउनुपर्ने बाध्यता अध्यक्ष अशोक राईलाई छ। वर्तमान सरकारमा दुई मन्त्री सहभागी छन्।
‘सरकारमा पठाउँदा नै एक वर्षका लागि भनेर कार्यकाल तोकिएको थियो,’ बस्नेत भने, ‘एक वर्ष पूरा भइसक्दासमेत मन्त्री परिवर्तन भएका छैनन्। पार्टीले नयाँ मन्त्रीको नाम नै प्रधानमन्त्रीलाई दिइसक्दासमेत मन्त्री परिवर्तन गर्न प्रधानमन्त्रीले इच्छा देखाउनु भएको छैन। अब सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने तयारी छ।’
सो पार्टीले एक वर्षका लागि प्रदीप यादव र नवलकिशोर साहलाई सरकारमा पठाएको थियो। उनीहरू एक वर्षभन्दा बढी सरकारमा रहिसकेका छन्।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर जसपा गठन भएपछि सरकारमा जाने बेला रञ्जु झाको नाम पनि विना विभागीय मन्त्रीमा सिफारिस भएको थियो तर उनी विना विभागीय मन्त्रीमा नजाने बरु एक वर्ष कुर्ने भनेकी थिइन्।
त्यस्तै यसअघि जसपा नेपाल सरकारमा रहेको बेला डा.वीरेन्द्र महतो वनमन्त्री भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।