काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नविकरण नहुने स्पष्ट पारेका छन् ।
शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले पार्टी सदस्यता परित्याग गरेर भण्डारी राष्ट्रपति हुन गएकाले परित्याग गरेको सदस्यता नवीकरण नहुने स्पष्ट पारेका हुन् ।
आफूले भण्डारीको पार्टी सदस्यता खोस्यो भन्ने आरोपमा सत्यता नरहेको उनको भनाइ छ । पार्टी सदस्यता नविकरणका लागि रसिद समेत काटेको भण्डारीको दाबी प्रति अध्यक्ष ओलीले कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा नवीकरण नहुने टिप्पणी गरे ।
पूर्वराष्ट्रपति भण्डारीले चुनाव हारेकाहरुलाई भेला गरेर जमात खडा गर्दै हिँडेको आरोपसमेत लगाए ।
दुई पटक राष्ट्रपति भइसकेको व्यक्तिले पार्टीमा यस्तो समस्या खडा गर्नुहुन्छ भन्ने आफूले कल्पना समेत नगरेको जिकिर गरे । ओलीले मदन भण्डारीको अर्को वर्षको जन्मदिन मनाउन अहिलेदेखि कार्यालय खोल्दै पार्टीविरुद्ध भेला गरेर बसेको देखिएको बताए ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार देश विकासको बाटोमा अघि बढिरहेको बताए । उनले पार्टीमा प्रवेश गरेकाहरुलाई कुनै न कुनै जिम्मेवारी दिने बताए । कार्यक्रममा ओलीले आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई एमाले पार्टी प्रवेश गराएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।