काठमाडौँ – नेकपा (एमाले) का सांसद गोपाल भट्टराईले भारत र चीनबिच कालापानी क्षेत्रमा भएको सीमा व्यापार सम्झौताप्रति आपत्ति जनाउँदै नेपालले प्रतिवाद गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै भट्टराईले दुई ठुला छिमेकी देशहरूले साना देशहरूलाई हेप्ने प्रवृत्तिविरुद्ध नेपालले दृढतापूर्वक उभिनुपर्ने आवश्यकता रहेको बताएका हुन्।
‘उनीहरूको खासगरी साना देहरूलाई हेप्ने प्रवृति छ त्यो प्रवृतिको विरुद्धमा हामी जनुपर्छ,’ सांसद भट्टराईले भने।
पहिले पनि दुई देशले सम्झौता गरेको र नेपालले कुटनीतिक नोट पठाएको उनले बताए। पहिले देखि नै नेपालको भूमिमा भारतले सेना राख्ने काम समेत गर्दै आएको उनले बताए।
उनले सीमा व्यापार सम्झौताले नेपालको सार्वभौमिकतामाथि चोट पुर्याएको उल्लेख गर्दै कूटनीतिको माध्यमबाट उक्त समस्या समाधान गर्न सरकारसँग आग्रह समेत गरे। भट्टराईले पश्चिम क्षेत्रमा काली नदीलाई आधार मानेर गरिएका पुराना सम्झौता अझै कायम रहेको स्मरण गर्दै ती सम्झौताका कार्यान्वयनमा भारतले बारम्बार अवरोध सिर्जना गर्दै आएको आरोप लगाए।
उनले भने, ‘नेपालको भूभाग पश्चिममा काली नदी मानेर गरिएका सम्झौताहरू कायमै छन्। ती सम्झौताहरूलाई कार्यान्वयन गर्ने कुरामा अवरोध सिर्जना गर्ने र बेला बेलामा हस्तक्षेप गर्ने काम भएको छ। भारतले सैनिक फिर्ता नलैजाने र हामीले नेपालको नक्सामा समेटेपछि भारतले पनि आफ्नो नक्सामा समेट्यो। प्रधानमन्त्रीको भ्रमणको समयमा त्यस विषयलाई जोडतोडका साथ उठाएर समाधानको बाटोमा लैजानुपर्छ।’
प्रधानमन्त्रीको भ्रमणमा यो विषय उठाउनुपर्ने र समाधान गर्ने गरी अगाडि बढ्नुपर्ने उनको आग्रह छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।