काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोकेको विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको बताएका छन्।
बिहीबार काठमाडौंको थापागाउँमा आयोजित सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पोखरेलले यस्तो बताएका हुन्।
‘म सम्झन्छु, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जुन बेला वास्तवमा विचारको प्रखरताको झण्डा बोकेर अघि बढ्नुभएको थियो,’ पोखरेलले सम्झिए, ‘त्यसबेलादेखि नै मदन भण्डारी फाउण्डेशन जोडिँदै आयो। उहाँको सामिप्यता पाएर फाउण्डेशनले महत्त्वपूर्ण भूमिका खेल्दै आयो।’
उनले मदन भण्डारीले ल्याएको जनताको बहुदलीय जबजको विचार कुनै मौसमी र चटके हिसाबले नआएको जिकिर गरे।
‘कुनै तत्कालका लागि मौसमी हिसाबले ल्याइएको, चटके हिसाबले ल्याइएको कुरा मात्रै होइन। त्यसको गहन पृष्ठभूमि छ,’ पोखरेलले भनेका छन्।
त्यस्तै पोखरेलले मदन भण्डारीको ७५ औं जन्मजयन्ती मनाउने क्रममा कामलाई व्यवस्थित बनाउन सम्पर्क कार्यालय खोलेको बताएका छन्।
‘जननेता मदन भण्डारीको ७५ औं जन्मजयन्ती मनाउने सिलसिलामा मदन भण्डारी फाउन्डेशनद्वारा गठन गरिएको आयोजक समितिले आफ्नो कामलाई व्यवस्थित गर्नका लागि कार्यालय स्थापना गरेको हो। यो त्यही कार्यालय हो,’ पोखरेलले भने।
आयोजक समितिले मदन भण्डारीको विचार र भूमिका विश्वमञ्चमा पुर्याउने उद्देश्य राखेर कार्यालय स्थापना भएको पोखरेलको भनाइ थियो।
‘के प्रतिबद्धता व्यक्त गरेको छ भने, आउने दिनमा जननेता मदन भण्डारीका विचार, उहाँको ऐतिहासिक भूमिका विश्व रंगमञ्चमा पुर्याउने उद्देश्य राखेर यो कार्यालय स्थापना गरेको मैले बुझेको छ। यो अनुसार यो कार्यालयले सफलता प्राप्त गरोस्,’ पोखरेलले भने।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले विचारको प्रखरताको झन्डा बोकेर अघि बढ्ने बेलामा मदन भण्डारी फाउन्डेशनले भूमिका खेलेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।