काठमाडौं– नेकपा माआवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले नेपालको सहमति बिना भारत–चीनले लिपुलेक नाकालाई व्यापारका लागि प्रयोग गर्ने निर्णय गर्नु आपत्तिजनक र दु:खद भएको बताएका छन्।
लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको भूमि हो भन्ने ऐतिहासिक तथ्य र प्रमाणका आधारमा दाबी गर्र्दै आएको उनले स्मरण गराएका छन्।
साथै उनले यो सहमतिलाई सच्याउन भार र चीनलाई आग्रह गरेका छन्।
संवेदशील विषयको सरोकारलाई उपेक्षा गरी नेपाल र नेपाली जनताको सार्वभौमिकता ,स्वाभिमान र मित्र भावना माथि गम्भीर चोट पुर्याएको श्रेष्ठको ठहर छ।
बिहीबार सामाजिक सञ्जालमा लेख्दै माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतले विवादास्पद भूमिका रुपमा स्वीकारेको समेत उल्लेख गरेका छन्।
श्रेष्ठले भनेका छन्, ‘भारतले यसलाई अझसम्म सहज रुपमा स्वीकार नगरे पनि यो क्षेत्रलाई बिबादास्पद भूमिका रुपमा नेपाल संगको वार्तामा स्विकार गरेको छ र परराष्ट्र सचिव स्तरीय द्विपक्षीय संयन्त्रमा छलफल गरेर यसको समाधान निकाल्ने विषयमा सहमति जनाएको छ।’
सन् २०१५ मा चीन भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेइजिङमा लिपुलेक नाकालाई भारत र चीन दुई देश बीचको व्यापारिक मार्गका रुपमा सञ्चालन गर्ने सहमति गरेका थिए।
उक्त सहमतिपछि आपत्ति जनाएर त्यसलाई सच्याउन माग गर्दै नेपालले दुवै देशलाई कूटनीतिक नोठ पठाएको थियो।
तर, पनि अहिले फेरि भारत र चीनले नेपालको संवेदशीलतालाई वेवास्ता गर्दै उपेक्षा गरेको श्रेष्ठले बताए।
विवादित क्षेत्र भनेर स्वीकारेको अवस्थामा पुन: पटकपटक लिपुलेकबाट सीमा व्यापार गर्ने सहमति गर्नु आश्चर्यजनक बताउँदै यसले नेपालीलाई स्तब्ध बनाएको श्रेष्ठको भनाइ छ।
श्रेष्ठका अनुसार भारतले समेत यस क्षेत्रलाई ‘विवादास्पद क्षेत्र’का रूपमा स्वीकार गरी द्विपक्षीय संयन्त्रमार्फत छलफल गर्ने सहमति जनाएको अवस्थामा, नेपाललाई बाइपास गरेर भारत–चीनबिच सम्झौता हुनु आश्चर्यजनक र स्तब्ध पार्ने विषय हो।
उनले नेपाल सरकारलाई भारतसँग सीमा समस्याको समाधान ऐतिहासिक तथ्य र दस्ताबेजको आधारमा कूटनीतिक वार्तामार्फत खुला छलफल गरेर समाधान खोज्न आग्रह गरेका छन्। साथै भारत–चीनबिच भएको यो सम्झौता सच्याउन नेपालले दुवै देशसँग औपचारिक छलफल गर्नुपर्ने उनले जोड दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत तथा चीन भ्रमणमा यस विषयलाई प्राथमिकताका साथ उठाउनुपर्नेमा समेत श्रेष्ठले जोड दिएका छन्। भारत–चीनबिचको सम्बन्ध सुधार र घनिष्ठतालाई स्वागत गर्दै उनले नेपालको सार्वभौमिकता र स्वाभिमानको मूल्यमा कुनै सम्झौता स्वीकार्य नहुने स्पष्ट पारेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।