काठमाडौं– नागरिक उन्मुक्ति पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै रहेको जनाएको छ ।
अध्यक्ष एवम् संसदीय दलकी नेता रन्जिता श्रेष्ठ चौधरीले सभामुख देवराज घिमिरेलाई बुधबार पत्र लेख्दै सरकारमाथि समर्थन तथा विश्वास कायमै रहेको जानकारी गराएकी हुन् ।
'नागरिक उन्मुक्ति पार्टीको निर्णयबमोजिम २०८२ असार २२ मा सरकारबाट समर्थन फिर्ता लिने भनि तहाँ संसद् सचिवालयमा समेत जानकारी गराएको व्यहोरासहितको पत्र बदर गरी वर्तमान सरकारमाथि पूर्णकालीन विश्वास एवम् समर्थन रहेको जानकारी गराउँदै अब सरकार पक्षतर्फ रहने व्यहोरासमेत अनुरोध गरिएको छ,' अध्यक्ष श्रेष्ठले सभामुखलाई लेखेको पत्रमा उल्लेख छ ।
संसदीय दलको नेताको रिक्त पदमा रन्जिता
यस्तै, सभामुखलाई बुझाएको अर्को पत्रमा पार्टीका संसदीय दलका नेता गंगाराम चौधरीलाई पार्टीको हित विपरीत कार्य गरेको भन्दै पार्टीको विधान बमोजिम स्पष्टीकरण सोधिएकोमा तथ्यपरक एवम् सन्तोषजनक जवाफ प्राप्त नभएको हुँदा उनको पार्टीको केन्द्रीय कार्यसमिति पदाधिकारी तथा संसदीय दलको भूमिकामा नरहने गरी साउन ३० गते कारबाही गरेको हुँदा पार्टीको संसदीय दलको नेताको पद रिक्त भएकोमा पार्टीको निर्णय अनुसार पार्टी अध्यक्ष स्वयमले संसदीय दलको नेताको भूमिका समेत निर्वाह गर्ने व्यहोरा जानकारी गराएकी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।