काठमाडौँ– सभामुख देवराज घिमिरेले बुधबार सिंहदरबारमा पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँग भेट गरेका छन्।
काठमाडौँमा जारी द हिन्दू कुश हिमालय पार्लियामेन्टेरियन्स मिट–२०२५ मा सहभागी हुन नेपाल आएको पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँग सभामुखले शिष्टाचार भेटवार्ता गरेका हुन्।
पाकिस्तानी सांसद मुनाजा हसनको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई स्वागत गर्दै सभामुखले दुई देशबिचको मैत्रीपूर्ण सम्बन्ध तथा क्षेत्रीय सहकार्यका सम्भावनाबारे चर्चा गरेका थिए। भेटमा घिमिरेले जलवायु परिवर्तन, दिगो विकास र जनजीविकामा पर्वतीय क्षेत्रले भोगिरहेका चुनौतीहरूलाई साझा एजेन्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।
सभामुखले दुई देशबिच व्यापार, कनेक्टिभिटी तथा पर्यटनका सम्भावनाहरू रहेको बताउँदै त्यसमा संसदीय सहकार्य गर्न सकिने धारणा राखे।
प्रतिनिधि मण्डलकी नेतृ हसनले नेपालले हिन्दू कुश हिमालय पार्लियामेन्टेरियन्स मिट–२०२५ सफल रूपमा सम्पन्न गरेको भन्दै धन्यवाद ज्ञापन गरिन्। नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरण र पर्वतीय पारिस्थितिकाे संरक्षणमा खेलेको भूमिकाको उनले प्रशंसा गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।