काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बोलाएको विपक्षी दलको बैठक माओवादी संसदीय दलको कार्यालयमा सुरु भएको छ।
सत्तारुढ दलले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन तयारी गरेको भनिएको बेला प्रचण्डले विपक्षी दलको बैठक बोलाएका हुन्।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका कार्यवाहक अध्यक्ष डीपी अर्याल, प्रमुख सचेतक सन्तोष परियार सहभागी छन्। त्यस्तै राप्रपाका नेता बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान, नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र नेता शेरबहादुर कुँवर, नेसपाका महिन्द्र राय यादव तथा आजपाका अध्यक्ष प्रभु साह सहभागी छन्।
प्रतिपक्षमा रहेका नाउपा र जसपा नेपाल भने सत्तापक्षको छलफलमा गएका थिए।
कांग्रेस र एमालेका सांसदहरूले उपभामुख हटाउनका लागि हस्ताक्षर गरेका छन्। उपसभामुख भने अमेरिकामा छिन्।
आचरणसम्बन्धी प्रश्न उठाउँदै उपसभामुखलाई पदबाट हटाउन लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।