काठमाडौं– नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले आफूले पार्टीको निर्देशनअनुसार काम गरेको तर त्यसबारेको विस्तृत सूचना भने आफूलाई थाहा नभएको बताएका छन्।
मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूको जिज्ञासामा उनले संक्षिप्त तर व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका हुन्।
'निर्देशन चाहिँ के थियो?' भन्ने पत्रकारको प्रश्नमा बास्कोटाले भने, 'निर्देशनअनुसारको काम गरियो, सूचना थाहा भएन।'
उनले आफूलाई सुरुमा दलको कार्यालयमा आउन भनिएको र त्यसपछि प्रमुख सचेतकसँग भेट्न निर्देशन दिइएको बताए। 'प्रमुख सचेतकज्यूसँग भेट्नु भन्ने थियो, भेटियो। उहाँले 'ठीक छ' भन्नुभयो, निस्कियो,' बास्कोटाले भने।
भित्र के कुराकानी भयो भन्ने प्रश्नमा भने उनले रमाइलो पारामा जवाफ फर्काए। 'के कुरा हुनु? यस्तै सञ्चो-बिसञ्चो के छ कसो छ भनेर कुरा भयो' उनले हाँस्दै भने।
कुनै विशेष छलफल थियो कि भन्ने प्रश्नमा पनि उनले स्पष्ट जवाफ दिन चाहेनन् र भेटघाटलाई 'बैठक नभई सामान्य भेटघाट' मात्र भएको बताए।
नेकपा एमालेका सांसदहरुलाई आज आकस्मिक वैठकका लागि संसदीय दलको कार्यालयमा उपस्थित हुन भनियो र उनीहरु पार्टीको निर्देशन मान्दै हाँपझाँप गरेर आए। धेरैजसोलाई के विषयमा आकस्मिक वैठक बोलाइएको हो भन्ने पनि थाहा थिएन।
उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ। यसअघि पनि रानामाथि हटाउने तयारी भएको थियो। तर विरोध भएका कारण यो प्रक्रिया अघि बढेको थिएन।
उपसभामुख इन्दिरा रानालाई हटाउन सत्तारुढ नेकपा एमालेको संसदीय दलमा हस्ताक्षर थालिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।