काठमाडौँ– विद्यालय शिक्षा विधेयक ओझेलमा परेको भन्दै शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको ध्यानाकर्षण गराइएको छ।
सोमबार नेपाल विद्यार्थी सङ्गठन अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु अध्यक्ष सुजन कडरिया, अनेरास्ववियू(क्रान्तिकारी) अध्यक्ष विजय प्रकाश शर्मा लगायत १६ विद्यार्थी सङ्गठनहरूले समिति अम्मर बहादुर थापालाई विद्यालय शिक्षा विधेयकका साथै स्ववियु विद्यार्थी कल्याण परिषद्को निर्वाचनका विषयमा ५ बुँदे ध्यानाकर्षणपत्र बुझाएका हुन्।
शिक्षा विधेयक अहिले समितिमा छलफलमै छ। आज तीन बजेका लागि डाकिएको बैठकमा समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ। सरकारले शिक्षकहरूसँग असार १५ गतेभित्र ल्याउने सहमति गरेको थियो। सहमति कार्यान्वयन नभएको भन्दै शिक्षकहरूले भदौ दोस्रो सातादेखि फेरि आन्दोलनको घोषणा गरेपछि विद्यार्थी सङ्गठनहरूले पनि चासो देखाएका हुन्।
नेपालको संविधानमा व्यवस्था भएको शिक्षा सम्बन्धी हक बमोजिम प्रत्येक नागरिकले माध्यमिक तहसम्मको शिक्षा पूर्णतः निःशुल्क प्राप्त गर्न पाउनुपर्ने व्यवस्था अविलम्ब अक्षरशः कार्यान्वयन गर्न समेत सरकारसँग जोडदार रूपमा माग गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।