काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले वामदेव गौतमलाई पार्टीको तेस्रो वरियताको जिम्मेवारी दिएको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शुक्रबार बसेको समाजवादीको सचिवालय बैठकले नेता गौतमलाई अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालपछि नेता गौतमलाई वरियता तोकेको हो ।
राष्ट्रिय एकता अभियानबाट एकीकृत समाजवादीमा समाहित भएका नेताहरूलाई जिम्मेवारी दिने निर्णय भएको पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए । गौतमलाई विभाग संयोजन गर्ने जिम्मेवारी दिइएको उनले बताए ।
त्यस्तै सचिवालय बैठकले रामकुमारी झाँक्रीले आत्मालोचना प्रस्ताव पेस गरेकाले र आगामी दिनमा गल्ती कमजोरी नगर्ने प्रतिबद्धता जनाएकाले यस विषयमा थप छलफल गरेर अघि बढ्ने निर्णय पनि गरेको ज्वालाले जानकारी दिए ।
त्यस्तै माओवादी केन्द्र र बिप्लव नेतृत्वको नेकपा र समाजवादी मोर्चाबीचको सम्बन्धलाई प्रभावकारी बनाउने निर्णय गरेको छ भने रुपन्देही ३ मा हुने उपनिर्वाचनका सन्दर्भमा प्रदेश अध्यक्षलाई सुझाव दिन निर्देशन गरेको प्रचार विभाग प्रमुख ज्वालाले जानकारी दिए ।
बैठकले पार्टी निर्माणको आगामी कार्ययोजनालाई समेत बैठकले पारित गरेको छ । भाद्र २५ गते बस्ने स्थायी कमिटी र भाद्र २६ गते बस्ने पोलिट्व्युरोका साथै भाद्र २७ र २८ गते बस्ने पार्टीको केन्द्रीय कमिटी बैठकमा पार्टीका बिभिन्न एजेण्डामा विस्तृत रुपमा छलफल हुने ज्वालाले बताए । त्यस्तै सचिवालय बैठकले जनसरोकारका विषयमा समसामयिक प्रस्ताव पारित गरेको समाजवादीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।