पर्सा– पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–२ कटेया गाउँका दुई घरमा प्रहरीसहितको संयुक्त अनुगमन टोलीले छापा मार्दा १९१ बोरा सरकारी अनुदानको मल बरामद भएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको निर्देशनमा बुधवार मध्यरातमा खटिएको टोलीले साह मोहम्मद अन्सारी र युनुस अन्सारीको घरमा छापा मारेको हो।
टोलीमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेडका प्रतिनिधिहरू सहभागी थिए।
प्रजिअ अर्यालका अनुसार साह मोहम्मद अन्सारीको घरबाट डिएपी ९ बोरा, पोटास १८ बोरा र फस्फेट ११४ बोरा गरी १४१ बोरा मल बरामद भएको छ। यस्तै, युनुस अन्सारीको घरमा छापा मार्दा डिएपी २७ बोरा र पोटास २३ बोरा गरी ५० बोरा मल फेला परेको छ।
बरामद गरिएको १९१ बोरा मल अहिले जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरीले जनाएको छ। तर, मल भण्डारण गर्ने दुवै घरका धनी फरार रहेका र उनीहरूको खोजी भइरहेको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
पर्सामा हाल धानबालीका लागि मलको तीव्र अभाव देखिएको छ। सरकारले आयात गरेको मल पर्याप्त नभएकाले किसानहरू मारमा परेका छन्। किसानका लागि वितरण गर्न पठाइएको अनुदानको मल अवैध रूपमा भण्डारण गरी कालोबजारीमा लगिएको गुनासो बढेपछि प्रशासनले अनुगमन कडाइ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।