वीरगञ्ज– जिल्ला कारागार पर्सामा एक जना चिकित्सकको दरबन्दी भए पनि वर्षौँदेखि त्यो रिक्त छ।
कारागारमा सातौँ वा आठौँ तहको एक जना मेडिकल अधिकृतको दरबन्दी भए पनि हाल त्यहाँ एक जना ‘हेल्थ असिस्टेन्ट’ ले मात्रै स्वास्थ्य सेवा प्रवाह गर्दै आएका छन्।
वीरगञ्ज कारागारमा वीरगञ्ज – २५ का राहुल साह तुरहाको गत मङ्गलवार व्यायाम गर्दा स्वास्थ्यमा जटिल समस्या भएर नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि कारागारमा नियमित स्वास्थ्य परीक्षण एवं दरबन्दीअनुसार चिकित्सकको व्यवस्था हुनुपर्ने विषय सार्वजनिक भएको हो।
जिल्ला कारागार प्रमुख खिमराज भुसालले कारागार व्यवस्थापन विभागसमक्ष दरबन्दीअनुसारको मेडिकल अधिकृतको व्यवस्था गर्न पत्राचार गरेको बताए। वीरगञ्ज कारागारमा स्वदेशी एवं विदेशी थुनुवा र कैदी गरी एक हजार ३१० जना छन्। कारागारमा महिला कैदी पाँच जना, महिला थुनुवा ४२ जना र दुई जना आश्रित बालिका छन्। विदेशी थुनुवा र कैदी १९९ जना छन्।
कारागार ऐन, २०७९ मा ५०० जनाभन्दा बढी बन्दी रहने प्रत्येक कारागारमा तोकिएबमोजिमको शय्या रहेको एउटा अस्पताल र सोभन्दा कम बन्दी रहने कारागारमा एउटा स्वास्थ्य चौकीको व्यवस्था गर्नुपर्ने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।