काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिहीबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन्।
भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन्।
सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराएलगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए।
त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद चन्दा कार्की (भण्डारी) लाई बोल्न दिएका थिए। उनले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुरूप छानबिन गर्न समिति नबनाइएकोले नबस्दासम्म विरोध गरिरहने बताइन्। त्यतिमात्र होइन, उनले मन्त्रिपरिषद्का सदस्यहरू विभिन्न काण्डमा मुछिएको भन्दै छानबिन गर्न माग गरिन्।
त्यसपछि सभामुख घिमिरेले राप्रपाका सांसद ध्रुवबहादुर प्रधानलाई बोल्ने समय दिए। उनले पनि सधैँजस्तै भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले नहुँदासम्म आफूहरूको विरोध जारी रहने बताए। उनले आफूहरूले संसद् बैठक बहिस्कार गर्ने र बहिस्कार गर्ने दिनको भत्ता पनि नलिने बताए।
दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।