काठमाडौँ– गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागारमा विशेष सुविधा नदिइएको बताएका छन्।
प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार आयोगको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले रूपन्देही कारागारमा रहेका लामिछानेलाई मानवोचित र सबै कैदीले पाइरहेको सुविधा दिइएको स्पष्ट पारे।
लामिछानेलाई छुटै कोठामा राखिएको र कारागारको प्रशासनले केही समस्या छ कि भनेर सोध्ने गरेको पनि बताए। विशेष सुविधा दिइएको भन्ने नभएको स्पष्ट पारे।
गृहमन्त्री लेखकले भने, ‘माननीय रवि लामिछाने रूपन्देही जिल्लाको कारागारमा हुनुहुन्छ। जेलहरू साँघुरा छन्। उहाँलाई सानै भए पनि अलग्गै कोठामा राखिएको छ। उहाँलाई विशेष सुविधा दिइएको छ भन्ने पनि होइन। तर कारागारभित्र प्राप्त हुने न्यूनतम सुविधाबाट वञ्चित गरिएको होइन। कारागार सार्ने कुरा अघि बढेको छ।’
कैदीबन्दीलाई एक कारागारबाट अर्को कारागारमा सार्ने काम सहमतिअनुसार सरकारले गर्ने भएको बताए। कुन कारागारमा सार्ने भन्नेमा सुरक्षालाई मद्देनजर गरेर अघि बढाइरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।