काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई भेटेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरण अभियोगमा पूर्पक्षका लागि रुपन्देहीको भैरहवा कारागार रहेका लामिछानेसँग मंगलबार लिङ्देनले भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा स्वास्थ्य अवस्थाका साथै राष्ट्रिय राजनीति, संसद्को गतिविधि, रुपन्देहीमा हुने उपनिर्वाचन लगायत विविध पक्षमा कुराकानी भएको अध्यक्ष लिङ्देनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिए ।
उनले लेखेका छन्,'देशको एउटा महत्त्वपूर्ण पार्टीको सभापतिलाई थुनामा राख्दा सामान्यतया आफूले रोजेको कारागारमा बस्न दिनुपर्ने न्यूनतम सुविधाबाट पनि सरकारले वञ्चित गरेको देख्दा दुःख लागेको छ। भैरहवा कारागार सुविधा र सुरक्षा दुवै दृष्टिकोणले अनुपयुक्त छ।'
लिङ्देनले यस विषयमा गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण समेत गराएका छन् । लामिछानेलाई तत्काल काठमाडौँ सार्न उपयुक्त हुने लिङ्देनले बताए । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेसँग लिङ्देनको यो दोस्रो भेटवार्ता हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।