काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा आफू बहाल रहनुपर्ने माग गर्दै डा. मुकुल ढकालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।
सर्वोच्चको यो निर्णयसँगै मुकुल रास्वपा फर्किने वैधानिक ढोका बन्द भएको छ।
न्यायाधीशद्वय नहकुल सुबेदी र सुनीलकुमार पोखरेलको इजलासले रिट खारेज गर्ने निर्णय लिएको हो।
ढकालले रास्वपाको महामन्त्री आफू रहेको र सोही हैसियतमा काम गर्न पाउनुपर्ने दाबी गरी सर्वोच्चमा रिट दिएका थिए।
यसअघि न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासले विवादित विषयमा गरिएका निर्णय र पत्राचारसम्बन्धी सबै कागजात झिकाउने आदेश गरेको थियो।
त्यसअघि न्यायाधीश कुमार रेग्मीको इजलासले असार १२ गते रास्वपा र यसको नेतृत्वसँग लिखित जवाफ माग गरेको थियो।
साथै अन्तरिम आदेश जारी हुने कि नहुने भनी निर्क्योल गर्न दुवै पक्षलाई छलफलमा पनि बोलाएको थियो।
रास्वपाका संस्थापक महामन्त्री ढकाललाई पार्टीहितविपरीत गतिविधि गरेको भन्दै २०८१ असार २६ मा पार्टीबाट निकालिएको थियो। त्यसपछि उनले आफू रविको क्लबबाट निकालिएको प्रतिक्रिया दिएका थिए। ढकाल रास्वपाका प्रवक्ता समेत थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।