वीरगञ्ज– प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले शिक्षा र स्वास्थ्य जस्ता संवेदनशील क्षेत्रलाई सरकारले प्राथमिकतामा नपारेको भन्दै कडा आलोचना गरेका छन्।
वीरगञ्ज डाक्टर्स एसोसिएसन र अपन हेल्थद्वारा नगरसभा गृहमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, “डाक्टरको मूल्य छैन, तर तस्करको मूल्य धेरै छ। यहाँका बिरामीलाई वीरगञ्ज छोडेर काठमाडौँ जानुपर्ने अवस्था आउनु राम्रो होइन। मन्दिर–मस्जिदमा होइन, शिक्षा र स्वास्थ्यमा लगानी गर्नुपर्छ।”
उनले दातृ निकायबाट लिइएको ऋण मन्त्रीको क्वार्टर, गाडी खरिद वा भ्युटावर बनाउन प्रयोग हुने गरेको आरोप लगाए। ऋणको रकम शिक्षा र स्वास्थ्यमा खर्चिनुपर्ने बताउँदै उनले वीरगञ्ज आर्थिक नगरी भएर पनि राष्ट्रिय नेता उत्पादन हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरे।
सिंहले शेरबहादुर देउवालाई सुदूरपश्चिमको मात्र नेता भएको आरोप लगाउँदै नेताहरूको प्राथमिकता भौगोलिक सीमितता र व्यक्तिगत स्वार्थमा अड्किएको बताए। उनले पोखरा विमानस्थल र नयाँ संसद् भवन निर्माणलाई भ्रष्टाचारका लागि गरिएको प्रोजेक्टको उदाहरणका रूपमा प्रस्तुत गरे।
नेपाल चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा. मनोज गुप्ताले पनि सरकारले चिकित्सकका समस्यालाई बेवास्ता गरेको जनाउँदै ३५ वर्षदेखि अस्पतालको दरबन्दी नबढेको र एक चिकित्सकलाई ओपिडीमा एक सय भन्दा बढी बिरामी हेर्नुपर्ने अवस्था रहेको जानकारी दिए।
वरिष्ठ चिकित्सक डा. श्याम सुन्दर दासले एमबिबिएस वा एमडी अध्ययनमा डेढदेखि दुई करोड रुपैयाँसम्म खर्च हुने तर सेवा–सुविधा न्यून भएकाले लगानी नै नउठ्ने अवस्था रहेको गुनासो राखे। कार्यक्रमको सञ्चालन नारायणी अस्पतालका फिजिसियन डा. उदय नारायण सिंहले गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।