काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनको गतिविधिप्रति असन्तुष्टि जनाएका छन् ।
सोमबार एमाले पार्टी कार्यालय च्यासलमा मदन–आश्रित स्मृति प्रतिष्ठानको नवनिर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले मदन भण्डारी फाउन्डेसनले पार्टी हित विपरीत आफ्नो गतिविधि गरिरहेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
अहिले फाउण्डेशनका गतिविधि र यसको नेतृत्वले आन्दोलनप्रति निष्ठा देखाउन छाडेको उनले बताए । ओलीले आगामी दिनमा मदन भण्डारी फाउन्डेसन कसरी जान्छ भन्ने अन्योल नै रहेको जिकिर गरे ।
उनले पार्टी सम्बद्ध प्रतिष्ठान र फाउण्डेशनहरु व्यक्तिगत स्वार्थमा नभई पार्टीको आन्दोलन र समग्र हितमा केन्द्रित हुनुपर्नेमा जोड दिए । अध्यक्ष ओलीले स्थापित नेताको सम्मानमा खोलिएका र पार्टीसँग जोडिएका प्रतिष्ठान र संस्थाहरु ठगी खाने भाँडो हुन नहुने बताए ।
उनले सामाजिक अध्ययन, व्यक्तिको गुणवत्ता, निष्ठा र ज्ञानको विकासका साथै मानवीय चेतना र अनुशासन वृद्धिमा काम गर्न प्रतिष्ठानको नयाँ नेतृत्वलाई आग्रह गरे ।
कार्यक्रममा अध्यक्ष ओलीले प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार ज्ञवालीलाई शपथ गराउनुभएको थियो । प्रतिष्ठानका तत्कालीन अध्यक्ष प्रदीप नेपालको गत वैशाख २३ गते निधन भएकाले प्रतिष्ठानको यही साउन २३ गतेको ३१ औँ साधारणसभाबाट एमालेका उपमहासचिव ज्ञवालीलाई अध्यक्ष निर्वाचित गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।