काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका नेपाली नागरिकहरुको मताधिकारको व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय वनस्थलीमा शुक्रबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले विदेशमा रहेका नेपाली नागरिकहरुका लागि मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायहरुको गम्भीर ध्यानाकर्षण गराउन अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
त्यस्तै, बैठकले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साध्ने काम भएकाले त्यसबिरुद्ध जनताको हस्ताक्षर अभियानलाई देशव्यापी रुपमा प्रभावकारी बनाउने निर्णय गरेको छ ।
यसका लागि केन्द्रीय समितिको तर्फबाट संगठन निर्माणका हरेक गतिविधि सँगसँगै प्रभावकारी बनाइने समेत निर्णय भएको उनले बताए ।
बैठकले हज कमिटीको अध्यक्षमा नियुक्ति हुँदा पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएका पार्टीका संस्थापक केन्द्रीय सदस्य इश्रामुल्ला मियालाई केन्द्रीय सदस्यको जिम्मेवारी पुनः दिने निर्णय गरेको छ ।
त्यसैगरि बैठकले पार्टीले सम्पादन गर्नुपर्ने विभिन्न रणनीतिक कार्यहरू सम्पादन गर्नका लागि रणनीतिक समूहहरू गठन गर्ने निर्णय गरेको छ भने पार्टीको संगठन वडादेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्म सशक्त बनाउन र आवश्यक सबलीकरणका लागि केन्द्रीय समितिका सबै सदस्यहरू तथा केन्द्रीय विभागका सबै सदस्यहरूलाई जिल्ला जिल्लामा परिचालन गर्ने निर्णय भएको प्रवक्ता झाले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।