बर्दिया– मजदुरीका लागी भारत पसेका मधुवन नगरपालिका–६ का एकै परिवारका तीन र सोही पालिका–८ का एक गरेर पाँच नेपाली भारतमा सम्पर्कविहीन भएका छन् ।
परिवारका सदस्यले उनीहरु सडक निर्माणको काममा पुगेको र बुधबारदेखि सम्पर्कविहीन भएको बताएका छन् । दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर प्रकाश मल्लले पनि बर्दियाका ५ जना नेपाली बेपत्ता परेको जानकारी आफूहरुले पाएको बताएका छन् ।
उत्तराखण्ड राज्यको ग्राम बाकुडाबाट करिब १ किमि दूरीमा पर्ने मधेरा खटौला नजिक आएको पहिरोमा परी उनीहरु पुरिएको हुनसक्ने आशंका गरिएको छ । मधुवन नपा–६ का स्थानीय उद्धव खड्काले ३९ वर्षीय भतिज नरेन्द्र खड्का, उनकी ३० वर्षीया श्रीमती सरस्वती र छोरा २ वर्षीय रोमन बेपत्ता बताए ।
नरेन्द्रका परिवारका एक सदस्यले छोरा बेपत्ता भएको जानकारी पाएपछि बिहीबार बिहानै नातेदार नन्दबहादुर थापासँग बाबु चुणामणि गढवालतर्फ गएको बताए ।
मधुवन–५ का गाउँ नम्बर ८ का ४५ वर्षीय रामु परियारकी श्रीमती अमृता पनि मंगलबारपछि सम्पर्कविहीन छिन् । अमृताकी छोरा बुहारी विमला राजीले सासु आमासँग सम्पर्क हुन नसकेको बताइन् । स्थानीयहरुलाई भारतमा रोजगारी खोज्न सहयोग गर्ने चित्रबहादुर पौडेल पनि घटनाका बेला पौडी गढवालमै थिए । घटनाका बेला शौच गर्न आफू जोगीएको पौडेलले बताए ।
उनले घटनामा मधुवन–८ कि लक्ष्मी परियार र सोही पालिका–७ का भूपेन्द्र खत्री घाइते भएको र उनीहरुको उपचार गर्न हल्द्वानीस्थित सुशीला तिवारी अस्पतालमा उपचार भइरहेको बताए । उनले आफूले पटक-पटक गरी तीन समूहमा बर्दियाका ७३ जनालाई कामदारका रुपमा त्यहाँ लगेको र ५ जनाबाहेक सबै सम्पर्कमा रहेको बताए ।
भारतीय अधिकारीबाट उक्त घटनामा थर र ठेगाना नखुलेका २१, १९ र २३ वर्षका तीन नेपाली घाइते भएको सूचना दिल्लीस्थित नेपाली दूतावासले पनि पाएको छ । कन्सुलर मल्लले घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको सूचना आफूले पाएको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।