काठमाडौं– नेकपा माओवादी केन्द्रसहित ११ दलले स्वमूल्यांकन कार्यविधि तत्काल रोक्न माग गर्दै निर्वाचन आयोगलाई पत्र लेखेका छन् । बिहीबार संयुक्त पत्र दर्ता गराउँदै ११ दलले स्वमूल्यांकन कार्यविधि संविधानको प्रावधानहरू र राजनीतिक दलसम्बन्धी ऐनको भावनाविपरीत रहेको उल्लेख गरेका छन् ।
‘उक्त मस्यौदा संविधानको प्रावधानहरू तथा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को भावना र मक्सदविपरीत भएकाले उक्त स्वमूल्याङ्कन कार्यविधि तर्जुमा गर्ने कारबाही तत्काल रोक्न अनुरोध गर्दछौं,’ पत्रमा भनिएको छ । ११ दलले बुधबार संयुक्त बैठक बसेर आयोगको उक्त कार्यविधिको विरोध गर्ने निष्कर्ष निकालेको थियो। संसदको प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले दुई पार्टी सिस्टम लागू गर्ने मनसायले यस्तो कार्यविधि ल्याउन लागिएको ११ दलको आरोप छ।
'नेपालको राजनीतिक पृष्ठभूमिमा नेपाली जनताले विभिन्न संघर्ष र जनआन्दोलनबाट बहुदलीय प्रतिस्पर्धासहितको राजनीतिक दलको स्वतन्त्रता प्राप्त गरी वर्तमान संविधानले आत्मसात गरेको लोकतान्त्रिक व्यवस्थाको आधारभूत संरचनामा नेपालको राजनीतिक प्रणाली सञ्चालन भई रहेकाले दलीय स्वतन्त्रताको हकअधिकार कटौती हुने तथा प्रतिबन्ध लाग्ने गरी राजनीतिक प्रतिस्पर्धा गर्न पाउने अधिकारबाट वञ्चित गर्न नमिल्ने प्रष्ट छ,' पत्रमा भनिएको छ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ६१ ले दिएको अधिकार प्रयोग गरी उक्त मस्यौदा तर्जुमा गरेको उल्लेख गरिए पनि ऐनको उक्त प्रावधान सोही ऐनको कार्यान्वयन र प्रयोग गर्ने प्रयोजनको लागि मात्र निर्देशिका र कार्यविधि बनाउन सकिने व्यवस्था उक्त दफा ६१ ले गरेको ११ दलले ध्यानाकर्षण गराएको छ। 'त्यसैले अन्य छुट्टै प्रयोजन र विषयवस्तु राखेर कार्यविधि बनाउन मिल्दैन। यो कानुन निर्माणसम्बन्धी विधिशास्त्रीय मान्यताविपरीत छ,' पत्रमा भनिएको छ।
उक्त कार्यविधिको मस्यौदामा २७ वटा दफा र ४ वटा अनुसूचीको व्यवस्थाले राजनीतिक दलको स्वतन्त्रतालाई अंकुश लगाएर निर्वाचन आयोगले संविधान र निर्वाचनसम्बन्धी कानुनको प्रावधानलाई नियन्त्रण गर्ने मनसाय रहेको प्रष्ट आरोप ११ दलको छ।
एमालेको पनि असहमति, राजनीतिक दलहरूको आन्तरिक विषय भएको भनाइ
यता प्रमुख सत्तारुढ दल नेकपा एमालेले पनि निर्वाचन आयोगको स्वमूल्यांकन कार्यविधिप्रति असहमति जनाएको छ । बिहीबार निर्वाचन आयोगलाई पत्र बझाउँदै एमालेले स्वमूल्यांकन दलको आन्तरिक विषय भएको जानकारी दिएको हो ।
एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले उक्त कार्यविधिप्रति पार्टीले असहमति जनाएको बताए।
'स्वमूल्यांकन राजनीतिक दलहरूको आन्तरिक मामिला हो। नेपालको संविधानको भाग २९ को धारा २६९ देखि धारा २७२ सम्म राजनीतिक दलसम्बन्धी व्यवस्था छ। राजनीतिक दलको गठन, दर्ता, सञ्चालनसम्बन्धी व्यवस्था राजनीतिक दलको स्वायत्तता र स्वतन्त्रताको मर्मभित्र रही जनताको आकांक्षा बमोजिम हुने भएकाले यो स्वनियमनमा चल्नुपर्ने र यसको मूल्यांकन जनताले जनादेशमार्फत गर्ने भएकाले स्वनियमन दलको आफ्नै आन्तरिक विषय हो,' एमालेले आयोगमा बुझाएको पत्रमा भनिएको छ।
सैद्धान्तिक रूपमै राजनीतिक दल स्वमूल्यांकन कार्यविधि दल स्वयंको आन्तरिक विषय भएकाले राजनीतिक दल स्वमूल्यांकन कार्यविधिप्रति आफूहरूको असहमति रहेको एमालेले उल्लेख गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।