काठमाडौं– एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का सहअध्यक्ष केशरबहादुर बिष्टको नेतृत्वमा नेताहरुको ठूलो पंक्ति आज दिउँसो पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) मा प्रवेश गर्ने भएको छ।
राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीसँगको वार्ता निस्कर्षविहीन बने पनि उनकै सहअध्यक्षको नेतृत्वमा पार्टीको ठूलो पंक्ति प्रजातान्त्रिकमा प्रवेश गर्न लागेको हो।
शनिबार बिहानैदेखि राप्रपा राष्ट्रवादी र प्रजातान्त्रिकबीच एकीकरणको विषयमा छलफल भएको थियो। छलफलमा लोहनीले अध्यक्षसहित ३ वटा समानुपातिकको पद आफूले पाउनुपर्ने दाबी गरेका थिए।
पार्टीको शीर्ष नेतृत्व समानुपातिकको ३ पद दिन सकारात्मक भए पनि अध्यक्षको विषयमा सहमति नजुटेपछि लोहनी बाहिरिएको राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य किशोरबहादुर कार्कीले नेपाल लाइभलाई जानकारी दिए।
‘४ बजे सहअध्यक्ष केशरबहादुर बिष्टसहित ८५ प्रतिशत नेताहरु एकीकरण अभियानमा समावेश हुनुहुनेछ। पार्टी अफिसमा प्रवेशको कार्यक्रम छ,' कार्कीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।