काठमाडौं–प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षकको बढुवा तीन प्रकारबाट गर्ने प्रस्ताव पारित भएको छ।
समितिको आजको बैठकले विद्यायलय शिक्षा विधेयकमा शिक्षकको बढुवा तीन प्रकारबाट गर्ने प्रस्ताव पारित गरेको हो।
आन्तरिक प्रतियोगिता र आवधिक बढुवाको सट्टा आन्तरिक प्रतियोगिता, जेष्ठता र कार्यसम्पादन मूल्याङ्कन र कार्यक्षमता मूल्याङ्कनको आधारमा शिक्षक बढुवा गर्ने प्रस्ताव बैठकबाट पारित भएको हो।
परामर्श उपसमितिमा भएको सहमतिको आधारमा प्रस्तुत उक्त प्रस्ताव समितिको बैठकमा छलफल भएको हो।
सचिव पौडेलले आधारभूत तहका तृतीय श्रेणीका शिक्षक शतप्रतिशत खुला प्रतियोगिताबाट बढुवा गर्ने, दृतिय श्रेणीका शिक्षक आन्तरिक प्रतियोगिताबाट २० प्रतिशत, आवधिक वा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट ४० प्रतिशत र कार्यक्षमताको मूल्याङ्कनबाट ४० प्रतिशत बढुवा हुने प्रस्ताव गरेका थिए।
प्रथम श्रेणीमा आन्तरिक प्रतियोगिताबाट १० प्रतिशत, आवधिक वा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट ४५ प्रतिशत र कार्यक्षमताको मूल्याङ्कनबाट ४५ प्रतिशत शिक्षक बढुवा हुने प्रस्ताव गरेका थिए।
त्यस्तै माध्यमिक तहको तृतीय श्रेणीमा खुला प्रतियोगिताबाट ८० प्रतिशत र आन्तरिक प्रतियोगिताबाट २० प्रतिशत बढुवा गर्ने प्रस्ताव पनि मन्त्रालयले गरेको थियो। सो तहको दृतिय श्रेणीमा आन्तरिक प्रतियोगिताबाट २० प्रतिशत, आवधिक वा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट ४० प्रतिशत र कार्यक्षमताको मूल्याङ्कनबाट ४० प्रतिशत बढुवा गर्ने प्रस्ताव मन्त्रालयको थियो।
माध्यमिक तहको प्रथम श्रेणीमा आन्तरिक प्रतियोगिताबाट १० प्रतिशत, आवधिक वा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट ४५ प्रतिशत र कार्यक्षमताको मूल्याङ्कनबाट ४५ प्रतिशत शिक्षक बढुवा गर्ने मन्त्रालयको प्रस्ताव समितिबाट पास भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।