काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी शिक्षालाई बिस्तारै नियन्त्रण गर्दै राज्यले शिक्षामा सबैलाई समान अवसर प्रदान गर्ने गरी नीति निर्माण गर्नुपर्ने बताएका छन् ।
बिहीबार अखिल क्रान्तिकारीले गरेको शैक्षिक संवादका क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपालको संविधानले नै सबैलाई समान शिक्षा दिने व्यवस्थाको परिकल्पना गरेको बताएका हुन् ।
‘तर अहिलेसम्म राज्यले त्यसअनुसारको शिक्षा नीति त्यसअनुसार कार्यान्वयन गर्न सकेको छैन’, उनले भने, ‘उच्च शिक्षामा देखापरेका समस्या समाधान गर्न हाम्रै पालामा उच्च शिक्षा आयोग गठन गरेको थियो र त्यसमा विसङ्गति समाधान गर्ने उपाय सुझाएको थियो तर त्यो प्रतिवेदन नै आफूपछिको सरकारले गायब बनायो ।’
त्यसक्रममा प्रचण्डले समाजवाद उन्मुख राज्य र समाजवाद उन्मुख शिक्षा भनेको धनी र गरिबलाई अलग अलग नभई समान अवसरको परिकल्पना गर्ने बताए ।
‘हामीले हिजोदेखि सामन्तवाद र निरंकुशतावादका विरुद्ध या उनीहरुले अघि सारेको शिक्षा नीतिका विरुद्ध सङ्घर्ष गर्दै लोकतान्त्रिक र राष्ट्रिय स्वाधीनताका पक्षधर शक्तिहरूको निर्माण गर्ने हिसाबले शिक्षा नीतिमा जोड गर्यौँ’, अध्यक्ष प्रचण्डले भने, ‘अहिले संविधान निर्माण भइसकेपछि अबको हाम्रो शिक्षा नीति र सिङ्गो राज्य समाजवाद उन्मुख राज्य हुनेछ भनिएको छ ।’
उनले समाजवाद उन्मुख राज्य र समाजवाद उन्मुख शिक्षा मुख्यतः दलाल पूँजीका विरुद्ध,नोकरशाही पूँजीका विरुद्ध र सबैखाले सामाजिक विभेद र विकृतिका विरुद्ध हुने पनि बताए ।
‘संविधान बनाउँदा शिक्षा, स्वास्थ्य र रोजगारलाई मौलिक अधिकार भनेर परिभाषा गर्यौँ । त्यसको मूल मर्म शिक्षालाई राज्यले नियन्त्रण गर्नुपर्छ भन्ने नै हो’, उनले भने, ‘निजी शिक्षालाई बिस्तारै नियन्त्रण गर्दै राज्यले सम्पूर्णलाई शिक्षामा समान अवसर प्रदान गर्ने गरी नीति निर्माण गर्नुपर्छ भनेको हो ।’
उनले विद्यालय शिक्षा विधेयक लामो समय लड्केर बसेको अवस्थामा आफूले चलखेल भएको थाहा पाएपछि फिर्ता लिएर पुन: दर्ता गरेको दाबी गरे । उनले विद्यालय शिक्षा विधेयक लामो समय लड्केर बसेको अवस्थामा आफूले चलखेल भएको थाहा पाएपछि फिर्ता लिएर पुन: दर्ता गरेको दाबी गरे ।
त्यसक्रममा उनले शिक्षा विधेयक संसद्मा पुग्न एमाले र कांग्रेसका कारण ढिलो भएको भन्दै यसमा भ्रममा नपर्न आग्रह गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।