काठमाडौं– पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन् । पार्टीको लुम्बिनी प्रदेशस्तरीय विस्तारित बैठकमा भाग लिन जानेक्रममा बिहीबार जिल्ला कारागार भैरहवामा पुगेर उनले लामिछानेसँग भेट गरेका हुन् ।
भेटपछि पत्रकारहरुसँग कुरा गर्दे भट्टराईले लामिछानेविरुद्ध पञ्चायतकालभन्दा पनि निर्मम व्यवहार भइरहेको टिप्पणी गरेका छन् । निर्वाचित सांसद भएकाले भाग्ने र अपराध गर्ने सम्भावना नरहेकाले थुनाबाहिर रहेरै मुद्दा लड्न दिनुपर्ने उनको भनाइ छ ।
‘जनताको प्रतिनिधि भाग्ने र थप अवरोध गर्ने कुरा हुँदैन भन्ने अनुमान गरेर बाहिर राखेर मुद्दा फेस गर्न दिनुपर्ने हो’ भट्टराईको प्रतिक्रिया थियो । रविलाई जमानत आदि तरिकाले बाहिर निस्केर जनताको सेवा गर्न दिन या सांसद पद खारेज गरेर नयाँ चुनाव गराउन आफूले सभामुखलाई समेत भनेको भट्टराईले बताए ।
यस्तै उनले लामिछानेलाई कारागारमा पत्रपत्रिका उपलब्ध नगराइँदा सूचनाबाट बञ्चित गरिएको र कोठामा एक्लै राखेको देखेर अप्ठेरो महसुस गरेको बताए । यसबारे आफूले माथिल्लो निकायमा कुरा गर्ने भट्टराईले बताए ।
‘पत्रपत्रिका ल्याएर दिँदो पनि रहेनछ । हामी त पन्चायतकालमा, पढ्ने गर्थ्यौं । मैले प्रहरीलाई सोधें खै त्यस्तो आदेश छैन भन्नुभयो । कमसेकम सूचनाबाट बन्चित गर्न चाहिँ हुँदैनथ्यो । बस्ने ठाउँ पनि साँघुरो रहेछ । जेल भनिसकेपछि त खुला ठाउँ हुन्छ,’ उनले भने, ‘यसबारे म सम्बन्धित ठाउँमा भनौंला ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।