काठमाडौँ– ‘सङ्घीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समिति’ले प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाएको छ।
नयाँ वानेश्वरस्थित संसद् भवनको शंकर हलमा भएको कार्यक्रममा समिति सभापति जीवन परियारले प्रतिवेदन सभामुख घिमिरेलाई बुझाएका हुन्।
प्रतिवेदन आजको प्रतिनिधिसभा बैठकमा पेस गर्ने कार्यतालिका सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ।
कांग्रेस सांसद परियार सभापति रहेको समितिले सङ्घीय निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’मा छेडखानी भएको विषयमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुराले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको छ।
छानबिन समितिमा कांग्रेसका सांसद जीवन परियार सभापति छन् भने कंग्रेसका सांसद सुशीला थिङ सदस्य छिन्।
नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन्। माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।