काठमाडौं– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले नेता जनार्दन शर्माले स्थायी समिति बैठकको माइन्युटमा हस्ताक्षर गर्ने बताएको जनाएका छन्। यद्यपि बैठकमै भने उनले हस्ताक्षर नगरेको सापकोटाको भनाइ छ।
चार दिनसम्म बसेको माओवादीको स्थायी कमिटी बैठकपछि सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले जनार्दन शर्माको विषयमा धेरै खुला र स्पष्ट छलफल भएको बताए।
‘असाध्यै कमरेड्ली भावनाका साथ छलफल चल्यो। उहाँले माइन्युटमा सही गर्छु भन्नुभएको छ’, सापकोटाले भने, ‘बैठकमा स्थायी कमिटी र अध्यक्षले भनेका कुरामा अलिकति महसुस गर्नुभएको छ। साउन ६ गते जुन अभिव्यक्ति दिनुभएको थियो, त्यसमा आत्मालोचना त गर्नुभएको छैन। तर छलफल गर्दै जाने कुरा भएको छ।’
नेता सापकोटाले माओवादीबारे बजारमा पार्टी फुट्छ भनेर चर्चा चलेपनि ती सबै चर्चालाई खारेज भएको बताए। साथै उनले अव पार्टी एकताबद्ध भएर जाने कुरामा बैठक सफल भएको छ त्यो गर्वको कुरा भएको बताए।
‘पार्टी रूपान्तरणको अभियानमा व्यवहारिक रूपमा जान गुट उपगुट र स्वार्थ समूह विघटन गर्ने संकल्प भएको छ। त्यसो भयो भने निर्णयविपरित गए कारबाहीको दायरामा ल्याइने छ,’ उनले भने, ‘विधानविपरीत गए कारबाहीका लागि अनुगमन समिति बनाउने भनिएको छ। पार्टी शुद्धीकरण र रूपान्तरणका लागि धेरै राम्रो निर्णय गरेको छ। आचारसंहिता, नियमावली बनाउने भएको छ। विधि पद्धतिमा चल्ने संकल्पन गरिएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।