काठमाडौँ–नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गोयवल्स शैलीमा झुटो कुरा गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको भन्दै आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा घिमिरेले ७० दिनदेखि रास्वपा र राप्रपाले गरिरहेको यो कार्य बन्द गरिनुपर्ने बताएका हुन्।
घिमिरेले उनीहरूको यो कदम बन्द नभए सम्पूर्ण सांसदहरू उनीहरूको क्रियाकलापविरुद्ध उत्रिन पर्ने हुनसक्ने चेतावनी दिए। यसबारे ध्यान पुर्याउन पनि सभामुख देवराज घिमिरेलाई उनले आग्रह गरे।
‘रास्वपा र राप्रपाले गोयवल्स शैलीमा झुटो कुरा गरेर जनतामा भ्रम छर्ने काम बन्द गर्नुपर्छ। बन्द नगरिए संसद्को गरिमा रहने छैन,’ घिमिरेले भने–‘सम्पूर्ण सांसदहरू यसविरुद्ध उत्रिन पर्ने अवस्था आउन सक्छ, यसबारे ध्यान दिनुहोला।’
रास्वपा र राप्रपाले यही विषय उठाएर ७० दिनदेखि आफ्नो कुरा राख्ने र संसद् बहिस्कार गर्दै हिँड्ने कार्यको विरोध गर्दै घिमिरेले यस्तो बताएका हुन्।
उनले रास्वपा र राप्रपाको गतिविधिले संसद्को गरिमालाई कमजोर पारेको बताए। उनले दुई पार्टीको शैलीमा आपत्ति जनाउँदै गालीगलौजको प्रतिवादमा उत्रिने समेत चेतावनी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।