काठमाडौँ– हालै सार्वजनिक भएको मुलुकी देवानी (संहिता) ऐन, २०७४ लाई संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानुनी वैधता दिने प्रस्तावित कानुनबारे प्रतिनिधिसभामा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री अजय चौरसियाको जवाफ माग भएको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेकी सचेतक सुनिता बराल र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सचेतक रुपा शोशी चौधरीले कानुनमन्त्री चौधरीले प्रस्तावित कानुनमा के राख्न खोजिएको हो, जवाफ दिन माग गरेका हुन्।
एमालेसचेतक बरालले भनिन्, ‘बहुविवाह नेपाली समाजमा सामाजिक रूपमा हेर्न हो भने असामाजिक र कानूनी मान्यताले हेर्ने हो भने गैरकानूनी विषय हो। यो संवेदनशील र गम्भीर विषय हो। यस्ता विषयमा कानून निर्माणको प्रक्रियामा अघि बढ्दा अहिले उठेको विषय के हो ?’
मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा ७२ मा संशोधन गर्न तयार गरेको विधेयकको मस्यौदामा लेखिएको ‘कुनै पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अन्य महिलासँगको शारीरिक सम्पर्कबाट शिशु जन्मिएमा त्यस्तो महिलासँग विवाह गर्न चाहेमा विवाह गर्न सक्नेछ’ भन्ने प्रावधान राखिएको हो कि होइन माओवादी सचेतक चौधरीले प्रश्न गरिन्।
उनीहरूले यो गम्भीर विषय भएको उल्लेख गर्दै चर्चामा आएको वास्तविकता के हो भन्दै कानून मन्त्रीमाथि प्रश्न गरे।कानुन निर्माणमा सामाजिक परम्परालाई पनि ध्यान दिन पनि आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।