काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले विगत दुई आम निर्वाचनमा सर्वाधिक मत ल्याएर विजयी भएको बताएका छन्।
सूर्यप्रसाद श्रेष्ठद्वारा नेपालमा निर्वाचनको इतिहाससम्बन्धी लेखिएको पुस्तक आइतबार काठमाडौँमा विमोचन गर्दै ओलीले यस्तो बताएका हुन्।
उनले कुनै धन र बल प्रयोग नगरी स्वच्छताका साथ जनताले सर्वाधिक मत दिएर जितेको जिकिर गरे।
‘विगत दुई वटा चुनावमा सर्वाधिक मत ल्याएर जितेको सांसद मै हुँ। कुनै प्रकारको अनफेयर चिज नगरी कतै बुथ कब्जा नगरी, कसैलाई धम्की नदिई, कुनै अनुचित क्रियाकलाप नगरी एकदम स्वच्छताका साथ जनताले भोट दिएर जितेको हुँ’, उनले भने, ‘सञ्चार माध्यममा लाइभ गइराखेको छ। न बल प्रयोग न धन प्रयोग, धन र बल प्रयोगबिना जितेको हुँ। कसैले असत्य प्रमाणित गर्न सक्छ भने, अहिलेसम्मको कुनै निर्वाचनमा मैले कतै बुथ कब्जा गरेँ भने, कतै नियम उल्लङ्घन गरेर काम गरेँ भने कसैले पनि मलाई औँलो ठड्याउन सक्छ। रिस उठेर गाली गलौज गर्नु बेग्लै कुरा हो त्यो।’
ओलीले २०४८ सालको निर्वाचनमा पैसा खर्च नगरी विजयी भएको पनि भन्न भ्याए। त्यतिबेला पार्टीले निर्वाचन क्षेत्र झापा जान जम्मा दुई सय दिएको, त्यसमा पनि २० रुपैयाँ बचत गरेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।