धनगढी– कैलालीमा एक युवतीको हत्या भएको छ। १७ वर्षीया किशोरी याचना सेजवालको चक्कु प्रहार गरी हत्या भएको हो।
बर्दगोरिया गाउँपालिका-३ घर भएकी उनी सो पालिकाको वडानम्बर १ मा रहेको राजधानी सेकुवा एण्ड म:म सेन्टरमा काम गर्थिन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार, शनिबार बिहान करिब १० बजेतिर सेजवालमाथि सोही सेकुवा सेन्टरमा काम गर्ने बर्दगोरिया–१ का ३३ वर्षीय नृप साउदले चक्कु प्रहार गरेका थिए।
चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सेजवाललाई उपचारका लागि तत्काल धनगढीको निसर्ग हस्पिटल पुर्याइएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको डीएसपी सिंहले बताए।
उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा लगिने तयारी भइरहेको छ। प्रहरीले चक्कु प्रहार गर्ने साउदलाई नियन्त्रणमा लिएको छ।
प्रारम्भिक अनुसन्धानमा दुवैजना सोही होटलमा काम गर्ने गरेको खुलेको छ। हत्याको कारणबारे भने अझै खुल्न सकेको छैन र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।