हेटौंडा– नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् ।
बुधबार हेटौंडामा भएको निर्वाचनमा कुल ३७ मत खसेकोमा बानियाँले २२ र उनका प्रतिस्पर्धी बहादुर सिंह लामाले १४ मत प्राप्त गरे । एक मत भने बदर भएको छ ।
बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् । संसदीय दलको बहुमत संख्या अर्थात् २२ मतसहित बानियाँ दलको नेता चुनिएका हुन् ।
यसअघि बानियाँकै अगुवाइमा संसदीय दलका तत्कालीन नेता लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । उक्त प्रस्ताव संसदीय दलको बहुमत अर्थात् २२ मतले पारित गरेको थियो ।
रिक्त संसदीय दलको नेता पदका लागि बुधबार निर्वाचन गरिएको हो । संसदीय दलको नेतामा बानियाँ र लामा यही कार्यकालमा दोस्रो पटक आपसमा भिडेका हुन् । २०७९ मा बानियाँलाई नै पराजित गर्दै संसदीय दलको नेतामा लामा निर्वाचित भएका थिए ।
संसदीय दलको नेतामा निर्वाचित बानियाँ कांग्रेसको बागमती प्रदेश सभापतिसमेत हुन् ।
मुख्यमन्त्रीबाट राजीनामा नदिने लामाको अडान
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफूले पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन् । संसदीय दलको नेता पदको निर्वाचनमा इन्द्र बानियाँसँग पराजित भएसँगै लामाले आफूले राजीनामा दिनुपर्ने कुनै आधार नै नभएको बताएका हुन् ।
उनले संविधानभन्दा बाहिर कोही पनि ठुलो नहुने पनि बताए । उनले भने, ‘मैले राजीनामा दिनुपर्ने आधार नै छैन । सबै संविधान अनुसार नै हुन्छ । संविधानभन्दा बाहिर कोही पनि ठुलो हुन सक्दैन ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।