काठमाडौं – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री बहादुर सिंह लामा र इन्द्रबहादुर बानियाँबीच प्रतिस्पर्धा हुने भएको छ।
प्रदेश सभापति समेत रहेका इन्द्र बहादुर बानियाँ र मुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गरेका हुन्। यी दुवै सभापति शेरबहादुर देउवा पक्षका नेता हुन्।
लामाको अविश्वासको प्रस्ताव दर्ता गरेका सांसदहरूले पहिले नै बानियाँलाई दलको नेता र मुख्यमन्त्रीको लागि निर्क्यौल गरेपनि संसदीय दलको नेताबाट आउट भएका मुख्यमन्त्री लामा भने प्रतिष्पर्धामा आउने नआउने बताएका थिएनन्।
उनले आफ्नो तर्फबाट ललितपुरबाट प्रदेश सांसदमा प्रतिनिधित्व गरेका रामकृष्ण चित्रकारलाई प्रस्ताव गरेका थिए। तर, आफ्नो विपक्षमा रहेका सांसदहरूलाई आफूतर्फ तान्ने प्रयास गरिरहेका मुख्यमन्त्री लामाले अन्ततः आफै संसदीय दलको नेतामा प्रतिष्पर्धा गर्ने निर्णय गरेका छन्।
कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेश सभा सदस्य बानियाँले संसदीय दलका नेता लामाविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव मंगलबार पारित भएको थियो। कांग्रेसका ३७ सांसद मध्ये मंगलबार मुख्यमन्त्री लामाको पक्षमा १५ र बानियाँको पक्षमा २२ जना देखिएका थिए। दलको नेताबाट हटाउने अविश्वासको प्रस्ताव पास भए पनि लामा मुख्यमन्त्री पदमा कायम छन्।
हिजो गठन भएको निर्वाचन समितिले संसदीय दलको नेता चयन गर्नका लागि कार्यतालिका सार्वजनिक गरेको थियो। ११ बजेसम्म तोकिएको समयावधिमा बानियाँ र लामाको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी गराएको छ।
उम्मेदवारको प्रारम्भिक नामावली ११:३० बजे प्रकाशित गरिनेछ। उम्मेदवारको नाम फिर्ता लिने समय मध्याह्न १२ बजेसम्म तोकिएको छ।
दिउँसो १ बजे अन्तिम उम्मेदवारको नामावली प्रकाशन गर्ने र मतदान २ बजेदेखि ३ बजेसम्म हुने निर्वाचन समितिले जानकारी गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।