काठमाडौं – समाजवादी मोर्चाले अहिलेसम्मको गतिविधि पर्याप्त नभएको निष्कर्ष निकालेको छ।
मंगलबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले मुलभूत रुपमा मोर्चा सफल रहे पनि केही प्रश्न उठेकोबारे छलफल भएको हो।
नेकपा एसको पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकपछि नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले मोर्चाबारे गम्भीर समीक्षा भएको बताए।
‘मुलभूत रुपमा यस बीचमा मोर्चा सफल रह्यो भन्ने निष्कर्ष छ। तर यसका केही समस्या छन्,’ विश्वकर्माले अघि भने, ‘मोर्चाले जुन ढंगले गति लिनुपर्थ्यो। जनता र मोर्चामा सहभागी पार्टीका नेता र कार्यकर्ताका अपेक्षा, इमानदार नेता कार्यकर्ताको अपेक्षालाई सशक्त रुपमा परिपूर्ती गर्ने काममा केही सीमा रहे।’
उनले भने, ‘मोर्चालाई अझ प्रभावकारी बनाएर डेब्लभ नगर्ने हो भने त यतिको त अर्थ छैन। यो मोर्चाको बैठकमै बहस भयो। हामीले समीक्षा गरे अघि बढ्ने निष्कर्ष निकालेका छौँ।’
बैठकले समाजवादी मोर्चालाई अहिलेको वस्तुस्थितिमा समाजवादी दिशामा लैजानुपर्ने फरक ढङ्गले विस्तार गर्दा तार्किक र व्यवहारिक रूपमा लैजानुपर्ने निष्कर्ष निकालेको बताए।
भदौको अन्ततिर देशव्यापी कार्यक्रम लिएर जानेबारे छलफल भएको बताए। बैठकले देश अफ्ठेरो अवस्था रहेको निष्कर्षसहित सही ढङ्गले अघि नबढे देश सङ्कटमा पुग्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।