धनुषा–धनुषामा एक जना बालिकाको हत्या भएको छ।
गए राति करिब ११:३० बजेतिर जनकपुरधाम उपमहानगरपालिका ४ जिरोमाइल भन्ने ठाउँमा बालिकाको हत्या भएको हो।
साथै दुई जना घाइते छन्।ती बालिकाकी आमा र भतिजी नाता पर्ने घाइते अवस्थामा फेला परेका हुन्।
मधेस प्रदेश प्रहरी प्रवक्ता डिएसपी विजय यादवका अनुसार क्षिरेश्वरनाथ नगरपालिका-४ बटेश्वर घर भएकी १५ वर्षीया अञ्जलीकुमारी यादवको हत्या भएको हो।
उनकी ३५ वर्षीया आमा आशा र उनकी भतिजी अन्दाजी १४ वर्षीया राधा घाइते अवस्था फेला परेका थिए।
उनीहरू तीनै जनालाई गए राति नै मधेस प्रदेश प्रादेशिक अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा १२ बजेतिर चिकित्सकले अञ्जलीकुमारीलाई मृत घोषणा गरेका थिए।
उनीहरू तीन जना जनकपुरधाम ४ जिरोमाइल भन्ने ठाउँबाट दुई किलोमिटर पूर्वमा रहेको सूर्यनन्द चौधरीको एक तले घरमा डेरा लिएर बसेका थिए।
गए राति क्षिरेश्वरनाथ नगरपालिका ९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले खुकुरी प्रहार गरेको आरोप लागेको छ।
साह आफ्नै श्रीमतीको हत्या अभियोगमा पाँच वर्ष जेल सजाय काटेका व्यक्ति हुन्। मधेस प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीले घटनाको अनुसन्धान भइरहेको र हत्या अभियुक्तको खोजी भइरहेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।