काठमाडौँ– पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ।
सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा आयोजित अन्तरराष्ट्रिय बाघ मञ्चले उक्त घोषणा गरेसँगै ‘विश्व बाघ दिवस’ मनाउन थालिएको हो।
उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो। नेपालमा पनि दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले विभिन्न कार्यक्रम गर्दै आएको छ। सन् २०२२ मा गरिएको पछिल्लो राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको सङ्ख्या ३५५ पुगेको छ।
नेपालमा बाघको सङ्ख्या लक्ष्यभन्दा धेरै वृद्धि भएसँगै यिनको व्यवस्थापन, मानव–बाघ द्वन्द्व, बासस्थानलगायत विविध चुनौतीसमेत देखिएका छन्। मध्यवर्ती क्षेत्रका स्थानीय घाँस दाउरा, निहुरो टिप्न र गाईभैँसी चराउन जाने क्रममा बाघको आक्रमणमा पर्ने गरेका छन्। त्यस्तै कतिपय अवस्थामा बाघको चोरीसिकारी हुने, स्थानीय जनताको आक्रोशको निशानामा पर्ने र ठूला तथा लामा पूर्वाधारमा वारपार गर्ने क्रममा बाघ मर्नेक्रम पनि बढेको छ।
पाटे बाघ विश्वका १३ देशमा पाइन्छन्। ती मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो।
उक्त सम्मेलनमा नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या १२१ लाई बढाएर दोब्बर पु¥याउने प्रतिबद्धता जनाएको थियो। हाल नेपालमा बाघको सङ्ख्या बढेर त्यसको झण्डै तेब्बर पुगेको छ।
नेपालबाहेक भारत, चीन, भुटान, रुस, बङ्गलादेश, भियतनाम, म्यान्मा, मलेसिया, इन्डोनेसिया, थाइल्याण्ड र लाओसमा पाटेबाघ पाइन्छन्। विश्वभर सन् १९०० सम्म एक लाखको हाराहारीमा बाघको सङ्ख्या रहेको अनुमान थियो। त्यो सङ्ख्या सन् २०१० मा घटेर तीन हजार २०० मा सीमित भएको थियो।
विश्ववन्यजन्तु कोषको तथ्याङ्कअनुसार त्यसपछिका विश्वभरबाट भएका संरक्षणका प्रयासले बाघको सङ्ख्या बढेर सन् २०१६ मा तीन हजार ९०० र सन् २०२२ मा चार हजार ५०० पुगेको थियो। सन् २०२५ पछिल्लो तथ्याङ्कअनुसार विश्वमा बाघको सङ्ख्या बढेर पाँच हजार ३५७ पुगेको छ। त्यसमध्ये सबैभन्दा बढी भारतमा तीन हजार १६७, रुसमा ७५०, इण्डोनेसियामा ४००, नेपालमा ३५५, थाइल्याण्डमा एक सय ८९, भुटान १५१, मलेसियामा १५०, बङ्गलादेशमा १४६, म्यान्मामा २२ चीनमा २० भियतनाममा पाँच र लाओसमा दुई वटा बाघ रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।